नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले रामेछाप जिल्लामा उद्योग र व्यवसायको प्रचुर सम्भावना रहेको वताउनु भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको नवौ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट हिजो मन्थलीमा उद्घाटन गर्नुहुंदै वरिष्ठ उपाध्यक्ष मुरारकाले रामेछाप जिल्लामा फलाम, वालुवा, जुनार, पशुपालन व्यवसायका लागि उपयुक्त वातावरण भएको बताउनु भयो ।
रामेछाप जिल्लाको जुनारको उत्पादनलाई वजारमा पुरयाउन यसअघि सरकारसंगको सहकार्यमा उद्योग वाणिज्य महासंघले एक गाउं एक उत्पादन कार्यक्रम संचालन गरेको स्मरण गराउंदै ओभीओपी कार्यक्रम रामेछापमा पुन अर्को वर्ष संचालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
रामेछापको ठोसे फलामखानी संचालनको लागि आफूले महासंघ मार्फत प्रयत्न गर्ने पनि उहांले विश्वास दिलाउनु भयो ।
सभापतिको आशनबाट रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति वहादुर खड्काले जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरुको विक्रीका लागि जिल्लामा संकलन केन्द्र स्थापना गरि सहकारी मार्फत विक्रिगर्ने कार्यलाई तत्काल अगाडी बढाउने वताउनु भयो । त्यस्तै जिल्लामा संचालनमा हुने कृषि, पर्यटन व्यवसायलाई प्रोत्साहित गर्न गुरुयोजना तयार पार्ने उहांले वताउनु भयो ।
कार्यक्रममा बोल्दै संघका महासचिव जगन्नाथ दाहालले महिला उद्यमीलाई सक्रिय गराउंदै तालीम व्यवस्थापन गर्ने, ठोसे फलाम खानी संचालनको लागि पहल गर्ने, जिल्लाका पर्यटकीय केन्द्रहरु र ओखलढुंगा जोड्ने सडकलाई स्तारोन्नती गर्न पहल गर्ने लगायतका आगामी वर्षका कार्यक्रमहरु रहेको जानकारी गराउनु भयो ।
महासंघको कार्यकारिणी समिति सदस्य दीलसुन्दर श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले समेत शुभकामना मन्तव्य दिनु भएको थियो ।