निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले मुलुकका सवै राजनीतिक दलहरु समक्ष औपचारिक रुपमानै सहकार्य र सहमतीमा नेपाली जनताले वर्षौंदेखि चाहेको नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ लैजाने संविधान ल्याउन आग्रह गर्दै आएको विदितै छ । पहिलो संविधान सभाले संविधान दिन असफल भई राज्यले ठूलो नोक्सानी व्यहोर्नु परेको यथार्थता समेतलाई मनन गरि मुलुकका जिम्मेवार राजनीतिक दलहरुले दोश्रो संविधानसभा मार्फत संविधान दिने जनतासमक्ष गरेको वाचालाई नभुल्न महासंघ आग्रह गर्दछ । जनतासमक्ष वाचा गरेको दिन माघ ८ आउन केही दिनमात्र वांकी रहंदा घनिभुत ढंगमा सहकार्य गरेर संविधान निर्माण गर्ने र मुलुकलाई सही दिशातर्फ लैजान दलहरु उद्दत हुनुपर्ने वखत उद्यमी व्यवसायी लगायत आम नागरिकको चाहना विपरित केही राजनीतिक दलहरुले विभिन्न कारण देखाउंदै फेरी मुलुकलाई वन्द हड्तालको कहाली लाग्दो परिस्थितितर्फ पुन: धकेल्न खोजेको तर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विगतमा महासंघले वन्द हड्तालको संस्कृतिको अन्त्य गर्न पटक पटक राजनीतिक दलहरुलाई गरेको आग्रह, दवावका कारण यस्ता गतिविधि कम भएको, दलहरुले पनि त्यसको महसुस गरी बन्द हड्तालका कार्यक्रम कम गर्दै केही समययता रोकिएको स्मरण गराउंंदछ । बन्द हड्ताल रोकेकोमा महासंघले धन्यवाद समेत दिएको स्मरण गराउंदै जनताले केही राहतको महसुस गरिरहेको र जसको फलस्वरुप आर्थिक अवस्था र लगानीको वातावरणमा पनि विस्तारै सुधार हुंदै आएको छ । तर हाल केही समयदेखि मुलुकका केही महत्वपूर्ण भागहरु विभिन्न राजनीतिक दलहरु र शक्ति समूहका नाउंमा बन्दको चपेटमा परेको र पुन जिल्ला, अंचल हुदै मुलुकनै वन्द गर्नेसम्मको केहि राजनीतिक दलहरुको कार्यक्रमप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
विगतमा भएका श्रृंखलावद्ध वन्द हड्ताल, राजनीतिक अस्थिरताको नकारात्मक असरबाट आजसम्म पनि मुलुकको अर्थतन्त्र स्वस्थ हुन सकेको छैन । कतिपय उद्योग धन्दाहरु बन्द भए । मुलुक दैनिक १२ देखि १४ घण्टा लोडसेडिंगको मार खेपिरहेको र अहिलेपनि लगानीको पूर्ण वातावरण वन्न नसकेको महासंघ स्मरण गराउन चाहान्छ । महासंघले यस्ता बन्द हड्ताल आदि सवै मानव अधिकार विरोधी गतिविधि हुन भन्दै आएको हो । राजनीतिक पार्टी, तिनका भातृ संगठन, राजनीतिक वा गैर राजनीतिक पार्टी समूहले आयोजना गर्ने बन्द हड्ताल कार्यक्रमले अर्थतन्त्रमा अर्वौको क्षति हुनेमात्र हैन अझ रातदीन काम गरेर विहान वेलुकाको हातमुख जोर्नुपर्ने बाध्य गरिव नेपाली जनता, आकष्मिक उपचारको खोजीमा छटपटाई रहेका विरामी, विद्यालय जाने भविष्यका कर्णधार अवोध वालवालिका, चौविसै घण्टा उद्योग कलकारखाना चलाएर राष्ट्रिय अर्थतन्त्रलाई बचाई राख्ने उद्यमी व्यवसायी, उद्योग व्यवसायमा कार्यरत लाखौं कामदार मजदुरहरु त्यसको प्रत्यक्ष शिकार हुने छन् ।
बन्द हड्तालबाट आजसम्म कुनै पनि राम्रो उपलव्धी भएको थाहा छैन । बन्द हड्ताल आयोजकले जतिसुकै सफल भएको दावी गरेपनि उक्त दावी सर्वथा मिथ्या हो । बन्द हड्तालका दिनमा जतिपनि उद्योग कलकारखाना, यातायातका साधन, शिक्षण संस्थाहरु बन्द हुन्छन् ती वन्दको समर्थनमा नभई बन्द आयोजकबाट हुने डर, त्रास, धम्की र सरकारका तर्फबाट आवश्यक सुरक्षाको प्रत्याभुति नहुँदानै भएका हुन भन्ने यथार्थता हामीहरु सवैका सामुन्ने छर्लङ छ ।
मुलुक अत्यन्त जटिल मोडतर्फ उन्मुख भैरहेको, आम नेपाली जनताले वर्षैादेखि आफनै हातले लेखेको संविधान लागू हुने अपेक्षा गरिरहेको अवस्थामा एकताको प्रदर्शन गर्दै सहयोग र सहकार्यमा संविधान जारी गर्ने वातावरण वनाउनु पर्ने वेलामा पुन: वन्द हड्ताल कार्यक्रमहरु आव्हान गरेर कस्तो खालको राजनीतिक संस्कार वसाउन खोजिएको हो, कस्तो खालको मुलुकको परिकल्पना जिम्मेवार राजनीतिक पार्टीले गरेको हो त्यो संसयको घेरामा छ । बन्दको प्रक्रिया तथा संस्कारले देशलाई अगाडी बढाउँदैन वरु देशलाई पछाडीनै धकेल्दछ यो वास्तविकतालाई मनन गरि केहि राजनीतिक दलहरुले आव्हान गरेको बन्द हड्तालका सवै कार्यक्रम तत्काल फिर्ता लिन महासंघ गम्भिर अपिल गर्दछ । बन्द हड्तालका कार्यक्रमको साटो विरोधका अन्य रचनात्मक र दवावमुलक कार्यक्रम ल्याउन महासंघ आग्रह गर्दछ । साथै जनताको स्वतन्त्र रुपमा हिड्डुल गर्ने, पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार सुनिश्चित हुने वातावरण निर्माण गरिदिन नेपाल सरकार, प्रमुख राजनीतिक पार्टी समक्ष महासंघ माग समेत गर्दछ ।