नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले देशलाई छिट्टै लोडसेडिङ मुक्त बनाई देशमा उद्योग व्यवसायको विस्तारमा महासंघले काम गरिरहेको वताउनु भएको छ । यसका लागि महासंघले सरकारको सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी गराउनु भयो ।
गोरखा उद्योग वाणिज्य संघको ४१ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनको प्रमुख अतिथिको आशनबाट उद्घाटन गर्नुहुंदैं अध्यक्ष पाण्डेले मुलुकलाई संक्रमणबाट मुक्त राख्न सहमतीमा संविधान ल्याउन आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेले वन्द हड्ताल लगायतका कार्यक्रमहरु फिर्ता लिन समेत राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
उहांले गोरखा उवासंघले संचालन गरेको इलम प्रशिक्षण केन्द्र संचालन एवं भवन निर्माणको लागि महासंघ र आफ्नो तर्फबाट समेत सहयोग रहने विश्वास दिलाउनु भयो ।
सभापतिको आशनबाट संघका अध्यक्ष भगतवावु जोशीले संघले गरेको गतिविधीहरुबारे जानकारी गराउनु हुदै जिल्लाका व्यवसायीहरुलाई परेको कर तथा मिसम्याचको समस्या, रुग्ण उद्योगहरु, पर्यटन प्रबद्र्धन लगायत व्यवसायीक हक हितको लागि महासंघले सहयोग गर्नुपर्ने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा संघका सदस्य होम वहादुर बानियाँ, गैसस महासंघका अध्यक्ष काजीराम रोका, प्रमुख जिल्ला अधिकारी उद्धब तिमिल्सिना, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जीवनप्रेम श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा होटल गोरखा बिसौनी, व्यवसायी रामकृष्ण पन्तलाई प्रमुख अतिथि अध्यक्ष प्रदिपजंग पाण्डेले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।