मुलुकका सवै राजनीतिक दलहरु समक्ष औपचारिक रुपमानै सहकार्य र सहमतीमा नेपाली जनताले वर्षौंदेखि चाहेको नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ लैजाने संविधान ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गर्दै आएको हो । महासंघले गत पौष ७ गते काठमाडौंमा मुलुकका प्रमुख राजनीतिक दलहरुलाई एकै ठाउंमा राखेर समयमा संविधान ल्याउन दवाव दिएको विदितै छ । पहिलो संविधान सभाले संविधान वनाउन असफल भई राज्यले ठूलो नोक्सानी व्यहोर्नु परेको यथार्थता सम्झाउंदै जनतासमक्ष गरेको वाचालाई नभुल्न महासंघ पुन: आग्रह गर्दछ ।
घनिभुत ढंगमा सहकार्य गरेर संविधान निर्माण गर्ने र मुलुकलाई सही दिशातर्फ लैजान दलहरु उद्दत हुनुपर्ने वखत उद्यमी व्यवसायी लगायत आम नागरिकको चाहना विपरित केही राजनीतिक दलहरुले विभिन्न कारण देखाउंदै मुलुकलाई वन्द हड्तालको कहाली लाग्दो परिस्थितितर्फ पुन: धकेल्ने कार्य गरेकोमा महासंघ स्तव्ध भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संघ संस्थाले बन्द हड्ताल नगर्न गरेको आव्हानलाई मनन गरि बन्द हड्ताल आयोजना गर्ने राजनीतिक दलहरुले यही माघ ३ र ५ गते आव्हान गरेको बन्दको कार्यक्रम फिर्ता लिएकोप्रति महासंघ सराहना गर्दछ ।
विगतमा भएका श्रृंखलावद्ध वन्द हड्ताल, राजनीतिक अस्थिरताको नकारात्मक असरबाट आजसम्म पनि मुलुकको अर्थतन्त्र स्वस्थ हुन सकेको छैन । रोजगारीको अभावमा दैनिक हजारौं नेपालीहरु कामका लागि विदेशीन वाध्य छन् । कतिपय उद्योग धन्दाहरु बन्द भए । मुलुक दैनिक १२ देखि १४ घण्टा लोडसेडिंगको मार खेपिरहेको र अहिलेपनि लगानीको पूर्ण वातावरण वन्न नसकेको महासंघ स्मरण गराउन चाहान्छ । राजनीतिक पार्टी, तिनका भातृ संगठन, राजनीतिक वा गैर राजनीतिक पार्टी समूहले आयोजना गर्ने बन्द हड्ताल कार्यक्रमले अर्थतन्त्रमा अर्वौको क्षति हुनेमात्र हैन अझ रातदीन काम गरेर विहान वेलुकाको हातमुख जोर्नुपर्ने बाध्य गरिव नेपाली जनता, नेपाल घुम्न महिनौ अगाडीबाट कार्यतालिका वनाई आउने पर्यटक, उपचारको खोजीमा छटपटाई रहेका विरामी, विद्यालय जाने भविष्यका कर्णधार अवोध वालवालिका, चौविसै घण्टा उद्योग कलकारखाना चलाएर राष्ट्रिय अर्थतन्त्रलाई बचाई राख्ने उद्यमी व्यवसायी, उद्योग व्यवसायमा कार्यरत लाखौं कामदार मजदुरहरु त्यसको प्रत्यक्ष शिकार हुनेतर्फ ध्यानाकर्षण गराउंदै यही माघ ६ गते आव्हान गरिएको बन्द हड्तालको सम्पूर्ण कार्यक्रम फिर्ता लिई मुलुकलाई थप वर्वादी तर्फ नलैजान महासंघ गम्भीर आव्हान गर्दछ ।
बन्द हड्तालले संविधान वनाउन सहयोग गर्नुको साटो मुलुकमा द्वन्द वढाउन मद्दत गर्ने तर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराउंदछ । यसले मुलुकभित्र आउने स्वदेशी र विदेशी लगानी हतोत्साहित समेत गर्दछ । उद्योग व्यवसाय लगायत आम जनताको हितलाई मध्यनजर गर्दै विरोधका वैकल्पिक उपायहरु अपनाउन र यस्ता बन्दका कार्यक्रमहरु कहिल्यै पनि नगर्न सम्बन्धित सवै पक्षसंग महासंघ आग्रह गर्दछ । साथै विना अवरोध पेशा व्यवसाय गर्ने वातावरण वनाईदिन महासंघ नेपाल सरकार समक्ष माग समेत गर्दछ ।