नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज मिति २०७१ माघ ५ महासंघ सचिवालयमा वसेको शोक सभाले महासंघको स्थापनाकालको एडहक कमिटिका सदस्य एवं महासंघका भूतपूर्व अध्यक्ष श्री इन्द्रभक्त श्रेष्ठको निधन भएकोमा नेपालको तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको उल्लेख गर्दै गहिरो दु:ख व्यक्त गर्नुको साथै शोक प्रस्ताव पारित गऱ्यो ।
सो सभाले स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गर्यो ।
सन् १९२४ अगष्टमा काठमाडौंमा जन्मनु भएका स्वर्गिय श्रेष्ठको निमोनियाका कारण ९१ वर्षको उमेरमा नर्भिक अस्पताल, थापाथलीमा गत शनिवार (पौष ३ गते) निधन भयो । नेपाल उद्योग वाणिज्य महासंघको सृजनाकार माध्येका एक श्रेष्ठ काठमाडौंका रैथाने व्यापारी आशाकाजी श्रेष्ठका जेष्ठ सुपुत्र हुनुहुन्थ्यो ।
काठमाडौं र काठमाडौं वाहिरका केही सक्रिय व्यवसायीहरु हरिकृष्ण श्रेष्ठ, जनकदास श्रेष्ठ, वालकृष्ण श्रेष्ठ, राजवहादुर चिपालु, वेखामान श्रेष्ठ सहितको व्यवसायीहरुको टोली वनाई त्यसको नेतृत्व आफैले गरि २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछाडी “वाणिक मण्डल” वनाएर तत्कालिन राजा त्रिभुवनसंग भेटगरि तत्पश्चात नेपाल चेम्वर अफ कमर्सको स्थापना गर्ने पहलमा लाग्नु भयो र पछि २००९ सालमा चेम्वरको स्थापना भयो । तत्पश्चात उहां नेपाल चेम्वरको पटकपटक अध्यक्ष सहित महत्वपूर्ण पदहरु रही निकै वर्ष सेवा पनि गर्नुभयो । प्रजातन्त्रको उदयसंगै काठमाडौं वाहिर केही प्रमुख शहरहरुमा उद्योग वाणिज्य संघहरु खुल्न थाले र पछि उद्योग वाणिज्य संघहरु र निजी क्षेत्रलाई नेतृत्व दिन छाता संस्थाको महशुस गरि उहांकै पहलमा २०२२ सालमा प्रथम राष्टिय वाणिज्य सम्मेलन आयोजना गरि नेपाल उद्योग वाणिज्य संघ (हालको महासंघ) स्थापनामा उहांले महत्वपूर्ण योगदान दिनु भएको थियो ।
नेपालमा चेम्वर आन्दोलनका अभियन्ता तथा पथ प्रदर्शकका रुपमा चिनिंदै आउनु भएका उहां पछि २०३५ देखि २०३८ सम्म महासंघको नेतृत्व सम्हाल्न पुग्नु भयो । उद्योग व्यवसायीको हित र निजी क्षेत्रको विकासका लागि उहांले तत्कालिन सरकारसंग निकै नजिकमा रहेर कार्य गर्नुभयो । निजी क्षेत्र र उद्योग व्यवसायको हित विपरित भएका सरकारी नीति निर्णयहरु र सरकारी ढिला सुस्तीको पंचायती व्यवस्थामा पनि उहां खुलेरै विरोध गर्नुहुन्थ्यो । उहांकै पालादेखि चेम्वर आन्दोलनलाई बढाई जिल्ला जिल्लामा पनि संघहरु स्थापना गराई निजी क्षेत्रको आवाज वलियो बनाउन उहां सधै दत्तचित्त हुनुहुन्थ्यो । उहांकै अतुलनिय योगदान र मेहनतका कारण आज निजी क्षेत्रले आफूलाई यसरी फैलिएर काम गर्ने सौभाग्य पायो ।
नेपालको प्रतिष्ठित औद्योगिक व्यवसायिक समूह एनई ग्रुपका अध्यक्ष समेत रहनु भएका स्वर्गिय श्रेष्ठका युनिलिभर नेपाल लगायत करिव दुई दर्जन औद्योगिक व्यवसायिक, कम्पनीहरु संचालनमा छन् । नेपालको उद्योग, व्यवसाय लगायत वैक तथा वित्त क्षेत्रको विकासमा समेत उहां निरन्तर क्रियाशिल रहनु भयो । उद्योग, वाणिज्य, आर्थिक क्षेत्रमा मात्र नभई स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा समेत उहाँको अतुलनीय योगदान रहेको छ । नेपालको व्यापारलाई अन्तराष्ट्रियस्तरमा पुऱ्याउन र छिमेकी राष्ट्रसंग व्यापारिक सम्बन्ध जोड्ने कार्यमा समेत उहांको योगदान महत्वपूर्ण छ । पूर्व अध्यक्ष श्रेष्ठ विभिन्न मानपदवी, सम्मान तथा अवार्डबाट विभूषित हुनुहुन्थ्यो । पूर्व अध्यक्ष श्रेष्ठले विभिन्न व्यवसायिक तथा सामाजिक संघ/संस्थाहरुमा महत्वपूर्ण पदहरुमा रहेर कार्य गर्नु भएको थियो । तत्कालिन सरकारद्वरा गठित आयात निर्यात सल्लाहकार समिति र खाद्य सल्लाहकार समितिमा रही काम गर्नुभएको थियो । उहांको निधनबाट महासंघ लगायत निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ ।
सक्रिय जीवनको अन्तिमसम्म पनि उहांले महासंघको भलाईका लागि काम गरिरहनु भयो । महासंघले गत पौष ७ गते काठमाडौंको होटल शोल्टीमा आयोजना गरेको राजनीतिक वहसमा स्वयम् उपस्थित भएर हामीलाई हौसला प्रदान गर्नुभयो । अहिले उहां हामी माझ हुनुहुन्न, उहांले निजी क्षेत्रलाई दिनु भएको मार्ग निर्देशन, उहांको नेतृत्व क्षमता हाम्रा लागि प्रेरणाको श्रोत रहीरहने
छ । उहांको शालिन, सरल, सहिष्णु स्वभाव नयां पुस्ताका लागि प्रेरणादायी रहने छ । महासंघलाई आजको स्थितिमा पुर्याउन उहांले दिनु भएको योगदानको महासंघको इतिहासमा स्वर्णाक्षरले लेखिने छ ।
स्वर्गिय श्रेष्ठ एक वरिष्ठ उद्यमी व्यवसायी मात्र नभई अत्यन्त इमान्दार, विवेकशिल, कर्तव्यनिष्ठ र स्पष्ट वक्ता हुनुहुन्थ्यो । उहांको निधनबाट निजी क्षेत्र र महासंघले अभिभावक गुमाएको छ भने राष्ट्रले एक होनाहार एक असल, इमान्दार, कर्तव्य निष्ठ प्रजातन्त्र र आर्थिक स्वतन्त्रताप्रति प्रतिवद्ध उद्यमी गुमाएको छ । यस दु:खद घडीमा शोक सभाले महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्र स्वर्गिय श्रेष्ठको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्यो ।
शो सभामा महासंघका पूर्व अध्यक्षहरु पद्य ज्योति, विनोद वहादुर श्रेष्ठ, चण्डिराज ढकाल, पूर्व उपाध्यक्ष चिरञ्जीलाल अग्रवाल, पूर्व महासचिव माधवमणी राजभण्डारी, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य वनवारीलाल मित्तलले स्वर्गिय श्रेष्ठको सम्झनामा आफ्ना धारणा राख्नु भयो । शोकसभामा महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।
For detail photograph please visit https://plus.google.com/photos/103429292111014541126/albums/6106011050503717457