नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले राजनीतिक दलहरुको पूर्ण सहभागिता र आपसी सहमतीमा संविधान छिटो दिन आग्रह गर्नु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभाको हेटौंडामा उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष पाण्डेले राजनीतिक स्थिरता कायम हुन सकेमा औद्योगिक क्षेत्रले ठूलो फड्को मार्ने संकेत समेत गर्नुभयो ।
अध्यक्ष पाण्डेले निजी क्षेत्रले वर्षौदेखि प्रतिक्षा गरेका केही महत्वपूर्ण ऐन, कानुनहरु छिटो ल्याउन समेत सरकारसंग आग्रह गर्नुभयो । ऐन कानुनको प्रभावकारी रुपमा कार्यान्वयन हुनसके औद्योगिक क्षेत्रमा ठूलो समस्या नआउने पनि उहांको धारणा थियो ।
अध्यक्ष पाण्डेले महासंघको वारम्वारको आग्रह पछि कर फछर्यौट आयोग गठन भएको र यसबाट करमा रहेका विवादहरु (Dispute) समाधान भई मुलुकभित्र उद्योग व्यवसाय गर्ने, नयां उद्यम र नयां लगानी गर्ने वातावरण निर्माण हुने विश्वास समेत प्रकट गर्नु भयो । प्रमुख अतिथि अध्यक्ष पाण्डेले लोडसेडिङको समस्या एक वर्षभित्र समाधान हुने वताउनु हुदै अबको केही वर्षभित्रै मुलुकका लागि आवश्यक विद्युत उत्पादन भइसक्ने आधारहरु तयार हुदै गएको वताउनु भयो ।
काठमाडौं कुलेखानी हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने सम्बन्धमा निजी क्षेत्रले गर्न लागेको कार्यमा सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि अध्यक्ष पाण्डेले मकवानपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वलाई जिल्लाको विकासमा दीर्घकालिन योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । योजनाबद्ध विकास दीगो हुने भन्दै उहाँले देशको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले मकवानपुरको विकासका लागि कुलेखानी हेटौंडा सुरुङ मार्ग निर्माण कार्यलाई अगाडी बढाउन ठूलो प्रयास भैरहेको बताउनुहुदै यसलाई सफल पार्न सरकार लगायत सवै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो । उहांले जिल्लाको योजनागत विकासका लागि संघको भुमिका महत्वपूर्ण हुने पनि बताउनु भयो ।
उद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासदहरु अनन्त पौडेल, सुभाषचन्द्र ठकुरी र रामनारायण विडारी, प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, संघका सल्लाहकार शर्मिला डंगोल, राजनीतिक दलहरुका तर्फबाट राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज विष्ट, बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह, नेपाल पत्रकार महासंघ मकवानपुरका महासचिव कृष्ण सारुमगर लगायतकाले शुभकामना मन्तब्य दिनुभएको थियो ।
सभापतिको आशनबाट संघका अध्यक्ष भुवनलाल श्रेष्ठले जिल्लाका व्यावसायिक तथा सामाजिक समस्याको बारेमा जानकारी गराउनु भएको थियो । व्यवसायीहरुको कर सम्बन्धी समस्या तथा २५ मिटर सडक विस्तारको त्रास हटाउन आग्रह समेत गर्नु भयो ।