नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुक अन्तहिन संक्रमणकालबाट गुज्रिन वाध्य भएका कारण अर्थतन्त्र विस्तार हुन नपाएको वताउनु भएको छ । इलाम उद्योग वाणिज्य संघको ११ औं वार्षिक साधारण सभालाई इलाममा संवोधन गर्नुहुंदै अध्यक्ष पाण्डेले संक्रमणकाल यथावत रहंदा उद्योग व्यवसाय विस्तार हुन नसकेको र निजी क्षेत्रका माग अनुसार आवश्यक ऐन कानूनहरु आउन नसकेको बताउनु भयो । दुई दशकभन्दा पुराना ऐनहरुलाई संशोधन गरि छिटो ल्याउन आग्रह गर्दा अहिलेसम्म पनि आउन सकेन, अध्यक्ष पाण्डेले दु:खेसो गर्नुभयो ।
संविधान निर्धारित समयमा ल्याउन र मुलुकमा स्थिर राजनीतिक वातावरण वनाउन महासंघले वारम्वार ध्यानाकर्षण गराउदा पनि दलहरुले महत्वपूर्ण समय खेर फालेको दु:खेसो गर्नुहुंदै अव पनि दलहरु राजनीतिक सहमती र सहभागितामा छिटो संविधान ल्याउने तिर गएनन भने मुलुकले निकै ठूलो आर्थिक क्षति व्यहोर्ने वताउनु भयो ।
मुलुकको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान रहेको निजी क्षेत्र सक्रिय भएकै कारण मुलुकभित्र शिक्षा, स्वास्थ्य,पर्यटन र सेवा क्षेत्रले निकै ठूलो फड्को मारेको दावी गर्नुहुंदै अध्यक्ष पाण्डेले देशभित्र स्थिर राजनीति हुन सक्यो भने निजी क्षेत्रकै नेतृत्वमा मुलुकको आर्थिक विकासमा आमुल परिवर्तन हुने धारणा राख्नु भयो ।
रोजगारीका लागि वाह्य मुलुक जानुपर्ने वातावरणको अन्त्य गर्न सरकार तथा दलहरुलाई अध्यक्ष पाण्डेले आग्रह गर्नुभयो । उहांंले भन्नु भयो–गरिव जनताहरु चर्को व्याजमा ऋण काढेर वाह्य मुलुकमा कामको खोजीको लागि गइरहेको छन् । मुलुकभित्रै रोजगारी सृजना र उद्योग व्यवसाय विस्तार गर्ने वातावरण कहिले सम्म नवनाउने । उहांले जमिन, जंगल, जडीवूटी र जलश्रोतको विकासमा राज्यको ध्यान जाने हो भने मुलुकभित्रै रोजगारी सृजनाको ढोका खुल्ने पनि दावी गर्नु भयो । उहांले मध्यपमहाडी राजमार्ग र बूढीगण्डकी परियोजना छिटो सम्पन्न भएमा नेपाल छिटो अगाडी बढ्ने धारणा पनि राख्नु भयो ।
सो अवसरमा प्रमुख अतिथि अध्यक्ष पाण्डेले इलाममा उद्योग व्यवसाय गरि योगदान गर्नुहुने व्यवसायीहरु केशवलाल खड्की, प्रल्हाद चौधरी, सुरेश मास्के, र देवेन्द्र शंकरलाई सम्मानित गर्नुभयो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समिति सदस्यहरु टंक दुलाल, केशवराज पाण्डे, प्रकाश प्रशाईंले राजनीतिक स्थिरता नहुंदा मुलुक सवै प्रकारले पछाडी पर्दै गएको र इलाम जस्ता आर्थिक विकासका लागि प्रचुर सम्भाव्यता भएका जिल्लाहरुको श्रोत त्यसै खेर गएको वताउनु भयो । उहांहरुले पूर्वाञ्चलमा उद्योगी व्यवसायीहरुले भोग्नु परेका कर लगायतका समस्याहरुका विषयमा छिट्ै एक कार्यक्रम राख्ने जानकारी समेत गराउनु भयो ।
सभापतिको आशनबाट संघकी अध्यक्ष सुशिला सापकोटाले सहमतीका कुरा वाहिर आउने वित्तिकै अर्थतन्त्रको सूचक नेप्से ह्वात्त बढेको समाचार सुन्न पाइन्छ तर त्यो केही दिननै टिक्न सक्दैन भन्दै जनताहरुको आशा र विश्वासमा धोका नदिन दलहरुलाई आग्रह गर्नुभयो ।
इलामका उच्च मुल्यका नवदेवालीहरुको राष्ट्रिय अन्तराष्ट्रिय वजारीकरणमा संघले भूमिका निर्वाह गरेको र यसबाट स्थानीय क्षेत्रमा रोजगारी सृजना हुन गई स्थानीय जनताहरु उद्यमशीलता उन्मुख हुंदै गएको वताउनु भयो । उहांले छिटो राजनीतिक सहमती कायम गरि संविधान दिई मुलुकलाई संक्रमणकालबाट माथि उठाउन आग्रह समेत गर्नुभयो ।
इलाम उवासंघका उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षले पनि मन्तव्य व्यक्त गर्नुभएको उद्घाटन कार्यक्रममा वक्ताहरुले मुलुकभित्र कृषि र पर्यटनमा रहेको प्रचुर सम्भाव्यतालाई वास्ताविकतामा रुपान्तरण गर्ने प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन राज्यको विशेष ध्यान जानुपर्नेमा जोड दिनु भयो ।