नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंङ्ग पाण्डले नेपाल राष्ट्र बैङ्कले सुन विक्री गर्ने काम सुनचाँदी व्यवसायीहरुलाई नै दिनुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर सुनचाँदी व्यवसायी संघको संयुक्त आयोजनामा भएको बहुमूल्य रत्न पत्थर पहिचान तथा वर्गीकरण तालिमको समापन समारोहमा उहाँले सो कुरा बताउनु भएको हो ।
सुनचाँदी व्यवसायीहरुलाई दैनिक १५ किलोको दरले दिदै आएको सुन अपर्याप्त रहेको जनाउादै उहाँले अब त्यो जिम्मेवारी व्यवसायीहरुलाई दिनुपर्ने माग गर्नुभयो । भन्सार कम गरेर सुन विक्री गर्ने जिम्मेवारी दिने विषयमा महासंघबाट छलफल अघि बढाइरहेको पनि उहाँको भनाई छ ।
अध्यक्ष पाण्डेले सुनचाँदी व्यवसायको मर्यादा र विश्वसनीय जोगाउन स्वयं व्यवसायीहरु नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कुनै विवाद हुने वितिकै नयाँ संस्थाहरु खोलेर आफू अध्यक्ष बन्ने प्रवृतिले व्यावसायिक संस्था र व्यवसायीहरुको ओज घटाउने धारणा राख्नुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो "कुनै विषयमा चित्त नबुझे संस्थाभित्र बहस छलफल गरेर समाधान गर्नुपर्छ, न कि अर्को संस्था खोलेर अध्यक्ष बन्न । यसले व्यवसायीहरुको मर्यादा घटाउने र सरकारले स्थापित संस्थाको सरह व्यवहार नगर्ने अवस्था आउने गर्दछ । यसले व्यवसायीहरुलाई कमजोर बनाउँछ ।" अध्यक्ष पाण्डेले भन्नुभयो ।
समारोहमा तालिमका सहभागिहरुलाई अध्यक्ष पाण्डेले प्रमाण पत्र वितरण गर्नुभयो । १५-१५ दिन गरेर दुई पटक संञ्चालित सो तालिममा ४२ जनाको सहभागिता रहेको थियो । सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीले सरकारी अनुगमनका नाउामा व्यवसायलाई नियन्त्रण गर्ने, त्रासको वातावरण हुने अवस्था तत्काल अन्त्य हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष जोशीले विभिन्न सरकारी कार्यालयबाट छुट्टाछुट्टै हुने सीप विकासका तालिमहरु लक्षित वर्गसम्म पुर्याउन र समावेशी सहभागिताको जिल्लाका उद्योग वाणिज्य संघ सहकार्य गरेर जानुपर्ने खाँचो पनि औंल्याउनुभयो ।
ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्यले सुनचाँदी व्यवसायलाई अझ व्यवस्थित र बजार विस्तारको लागि समय समयमा व्यवसाय सम्बन्धी तालिमहरु संञ्चालन गर्दै आईरहेको बताउनुभयो । व्यवसाय सम्बन्धी विभिन्न तालिमले युवा पुस्ता पनि यस क्षेत्रमा आकर्षित गरेर थप रोजगारी सिर्जना गर्ने सक्ने पनि अध्यक्ष बज्रचार्यको भनाई रहेको छ ।
सो अवसरमा संघका सल्लाहकार एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्य, तालिमका संयोजक विपिन शाक्य, प्रशिक्षक कुन्दर सराफ संघका महासचिव सुविन बज्राचार्य लगायतले बोल्नुभएको थियो ।