नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१५ को अवलोकन गर्नेहरुको संख्या आज पनि निकै उत्साहजनक रह्यो । मेलाको आजसम्म करिव एकलाखले अवलोकन गरेका छन् । मेलाको तेश्रो दिन आज वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्याय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक ईश्वरी प्रसाद घिमिरे र सिएनएन हिरो अनुरोधा कोइरालाले पनि मेलाको अवलोकन गर्नुभयो ।
भोलिसम्म चल्ने मेला नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा भैरहेको छ । यस वर्षको यो मेला चौथो संस्करण हो । मेलामा स्वदेशी विदेशी गरि ३४० वटा स्टल मार्फत विभिन्न उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।
मेलाको आकर्षणमा जडीवूटी, एक गाउं एक उत्पादन कार्यक्रमका वस्तु तथा सेवाहरु रहेका छन् । मेलामा बंगलादेश ९०, भारत २८, चीन २२, पाकिस्तान २२, मलेसिया १, भुटान २ र बांकी नेपाली कम्पनीहरुले भाग लिएका छन् । यस वर्षको मेलाको कन्ट्रि पार्टनर मित्रराष्ट्र बंगलदेश रहेको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा जडीवूटी प्रदर्शनी रहेको छ । जसमा विभिन्न ६५ वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहेको छ ।
मेलाकै क्रममा बंगलादेश र चीनको तिव्वतबाट भाग लिन आएको व्यवसायिक प्रतिनिधिमण्डल बीच दिपक्षीय व्यवसायिक भेटवार्ता सम्पन्न भयो । ती वार्ताहरुमा अन्तराष्ट्रिय व्यापार मेलाले नेपालसंग आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तार, नयां प्रविधि आकर्षण तथा लगानी ल्याउनमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै आजै नेपाल र बंगलादेश बीच चिया, रेडिमेड गार्मेन्ट तथा जुटका उत्पादनका विषयमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो । नेपाल र बंगलादेश बीच जुट तथा जुटजन्य वस्तुहरुको विकासमा सहकार्य गर्ने प्रशस्त सम्भावना रहेको सो अवसरमा औल्याइयो ।
मेलाको अवलोकन गर्नुहुने महत्वपूर्ण व्यक्तित्वहरुबाट अन्तराष्ट्रिय व्यापार मेलाले नेपालको अन्तराष्ट्रिय सम्बन्ध विस्तार तथा व्यापारिक सूचनाको आदान प्रदानमा समेत सघाउ पुग्ने बताउनु भयो ।
महासंघले केन्द्रीय, जिल्ला, अंचल, क्षेत्रीय र राष्ट्रिय रुपमा मेला महोत्सव आयोजना गर्दै आएको र यसबाट जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न र आर्थिक क्रियाकलाप बढाउन सहयोग पुगेको अनुभव महासंघको छ ।
मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने अपेक्षा महासंघको छ ।