राज्यबाट कानूनी इजाजत लिई संचालनमा रहेका उद्योगहरुले उत्पादन गरेका पोलिथिनका झोलाको वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विक्री वितरण र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने नेपाल सरकारको निर्णयका सम्बन्धमा यस महासंघको ध्यानाकर्षण भएको छ । वातावरणको संरक्षणप्रति प्लाष्टिक उद्यमीहरु सहित सिंगो निजी क्षेत्र पूर्ण सचेत छ । पोलिथिन झोलाको प्रयोग समस्या नभै यसको व्यवस्थापन मुख्य समस्या रहेको महासंघको धारणा छ ।
समग्र उद्योग व्यवसायनै संकटबाट गुज्रिरहेको अहिलेको अवस्थामा इजाजत लिएर संचालनमा आएका, हजारौं मानिसलाई रोजीरोटी दिएका र अर्वौको लगानी रहेको यी उद्योगहरुलाईनै धरासायी बनाउन सक्ने यस्ता निर्णयले कस्तो असर पर्ला संवेदनशील भएर सोच्न महासंघ सम्बन्धित पक्ष समक्ष विशेष आग्रह गर्दछ । यस्ता निर्णयले यसमा आश्रित हजारौलाई विचल्ली बनाउने त छनै साथमा सरकारको करोडौंको राजस्व गुम्नुका साथै यी उद्योगहरुमा लगानी गर्ने बैंकहरुको लगानीमा समेत गम्भीर असर पर्ने र समग्रमा राष्ट्रिय अर्थतन्त्रमै धक्का लाग्न सक्ने ठहर महासंघको छ ।
मुलुकभित्र लगानीको अनुकुल वातावरण छ भन्ने सन्देश राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दिनुपर्नेमा विभिन्न समस्याबाट चेपुवामा परेका उद्योग व्यवसायमाथि राज्यपक्षबाट अकस्मात गरिने यस्ता निर्णयले कस्तो प्रभाव पार्ला त्यसको गम्भीर समिक्षा गर्न महासंघ सरकारसंग विशेष आग्रह गर्दछ । अत: सरकारको उक्त निर्णयमा पुनरविचारका लागि आग्रह गर्दै महासंघ यसको उचित व्यवस्थापनका लागि सरकारसंग जोडदार माग गर्दछ ।