नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले आज महासंघमा महानिर्देशकको पदवहाली गर्नुभयो । श्री खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुनु भएको हो ।
पदवहाली पश्चात आजै महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरुबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।
महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ/संस्थाहरुको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरुलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्नेमा जोड दिनु भयो । साथै सरकार र निजी क्षेत्र बीचको साझेदारीलाई थप मजवुद वनाउने कार्यमा आफ्ना अनुभव समेतको भरपुर उपयोग गर्ने विश्वास दिलाउंदै महासंघलाई निजी क्षेत्रको एक सशक्त संस्थाको रुपमा अगाडी बढाउने आफ्नो योजनामा सवैबाट सहयोग पाउने विश्वास प्रकट गर्नुभयो ।
पदवहाली कार्यक्रममा महासंघका निर्देशक, उपनिर्देशक, सहायक निर्देशक महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरु लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।