वैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मुलुकभर राहत संकलन कार्यशुरु भएको छ । राहत संकलन, वितरण सहित तत्काल सहयोग पुरयाउन नागरिक समाजस्तरमा क्रियाशिल अन्य संघ संस्थाहरु र व्यक्तिहरुको समेत सहभागितामा यो पहल कदमी गरेको हो ।
यसका लागि महासंघको अगुवाईमा २० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरुको पहलमा “ओपरेशन रिलिफ” अभियानको थालनी गरिएको छ । यसका लागि महासंघले भृकुटीमण्डपको मुख्य प्रवेशद्वारसंगै आफ्नो अस्थायी कार्यालय समेत खडा गरेको छ । अभियानले नेपाल सरकारका सम्बन्धित निकायहरु, स्थानीय समूदाय, अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, गैर आवासीय नेपाली संघ र निजी क्षेत्रसंग हातेमालो गरि कार्य गर्ने छ । यस अतिरिक्त अभियान मार्फत भुकम्प पश्चात नागरिकहरुले अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना जगाउने कार्य समेत गर्ने छ जस्का लागि बिभिन्न कलाकार पनि यस अभियानसंग आवद्ध भएका छन् ।
अभियान मार्फत राहत संकलन कार्य शुरु भैसकेको छ, जसअन्तरगत हालसम्म ४५ लाख नगद, औषधि, खानेकुरा, पिउने पानी आदि संकलन भैसकेको छ । यसका लागि आधिकारिक फेसवुक पेज: www.facebook.com/eqnepal मार्फत पनि जानकारी लिन सकिने छ ।
महासंघले भुकम्प पिडीतहरुको सहयोगार्थ अहिले एभरेष्ट बैंक लि., कालीमाटी शाखामा रहेको FNCCI Earth quake Relief Fund, एकाउन्ट नम्वर 03700105200399 र स्वीफ्ट कोड EVBLNPKA मार्फत पनि सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ र अन्य बैंकमा पनि एकाउण्ट शिघ्र खोल्ने पनि जनाएको छ ।
महासंघले विपत्तिको यस घडिमा आफ्ना सवै सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएट सदस्यहरुलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल समेत गरेको छ ।
साथै महासंघले विपत्तिमा परेका नागरिकहरुको सहयोगार्थ दैनिक उपभोग्य वस्तु तथा सेवा आजैबाट सर्वसुलभ रुपमा सुपथ मुल्यमा उपलव्ध गराउन मुलुकभरका सवै उद्यमी व्यवसायीहरुमा हार्दिक अपिल समेत गरेको छ ।