नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा भृकुटीमण्डपबाट भुकम्प पिडीतहरुलाई राहत वितरण भैरहेको छ । आज राहत वितरणको सातौं दिनसम्म क्याम्पबाट भुकम्प पिडीतहरुका लागि खाद्यान्न, लत्ताकपडा, औषधि, पिउने पानी, त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरिएको छ ।
महासंघको राहत वितरण केन्द्रबाट काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिंग, सिन्धुपाल्चोक, गोरखा, रामेछाप, गोरखा, रसुवा, दोलखा, ओखलढुंगा लगायत प्रभावित क्षेत्रमा राहत सामग्री पठाइएको छ । महासंघले चलाएको अभियानबाट हजारौं मानिसहरुले राहत पाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार चिउरा ७५,००० केजी, चाउचाउ १७,५२० कार्टुन, पिउने पानी ४१,०५७ वोटल, पाल/त्रिपाल ६ हजार १ सय थान, करिव ४०,००० केजी चामल, दाल २६,२१० केजी लगायत यसैसाथ संलग्न तथ्यांक अनुसारको वस्तुहरु वितरण गरिएको छ । त्यसैगरि राहत केन्द्रबाट २ करोड ५० लाख रुपैयां वरावरको विभिन्न नाउका औषधि वितरण गरिएको छ । यस अतिरिक्त महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु मार्फत प्रदान गरिएका राहतको विवरण आउने क्रम जारी रहेको छ ।
महासंघले चलाएको राहत केन्द्रको वाणिज्य तथा आर्पुित मन्त्री सुनिल बहादुर थापाले अवलोकन गर्नुभयो । सो अवसरमा मन्त्री थापाले राहत सामग्री स्टोर लगायत वितरण कक्षको अवलोकन गर्नुभई केन्द्रबाट वितरण गरिएको राहत (नगद तथा जिन्सी)को वाणिज्य मन्त्रालयमा अभिलेखीकरण हुन जोड दिनुभयो ।
त्यसैगरि मुख्य सचिव लिलामणी पौडेलले वितरण कक्षको अवलोकन पश्चात राहत वितरण कक्षमा स्थापना गरिएको आइटी डेस्कका प्राविधिकहरुलाई भुकम्पबाट अति प्रभावित १३ जिल्लाका निर्वाचन क्षेत्रमा खटिएका नेपाल सरकारका वरिष्ठ अधिकृत (सहसचिवस्तर) तथा ती जिल्लाका दैवी प्रकोप उद्धार समितिसंग समेत समन्वय गरेर राहत वितरणको तथ्यांक संप्रेषण गर्न आग्रह गर्नुभयो । राहत वितरण कक्षको नेपालका लागि ब्राजिलका राजदुत समेतले अवलोकन गर्नुभएको थियो ।
महासंघको अगुवाईमा २० वटा भन्दा बढी संघ संस्थाहरुको पहलमा शुरु भएको “ओपरेशन रिलिफ” अभियानले नेपाल सरकारका सम्बन्धित निकायहरु, स्थानीय समूदाय, अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, गैर आवासीय नेपाली संघ र निजी क्षेत्रसंग हातेमालो गरि काम गरिरहेको छ ।
यस अतिरिक्त अभियान मार्फत भुकम्प पश्चात नागरिकहरुले अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना जगाउने कार्य समेत सामाजिक कार्यकर्ता एवं स्वयंसेवकहरुबाट परिचालन भएका थिए । महासंघले विपत्तिको यस घडिमा आफ्ना सवै सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएट सदस्यहरुलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गरेको छ ।
विपत्तिमा परेका नागरिकहरुको सहयोगार्थ दैनिक उपभोग्य वस्तु तथा सेवा सर्वसुलभ रुपमा सुपथ मुल्यमा उपलव्ध गराउन मुलुकभरका सवै उद्यमी व्यवसायीहरुमा महासंघले अपिल समेत गरेको छ ।
डाटाको लागि यहाँ क्लिक गर्नु होला ।