निकै लामो गृहकार्यपछि संविधानसभाबाट संविधान जारी गर्ने सम्बन्धमा विगत लामोसमयदेखि रहेको गतिरोधलाई अन्त्य गरि यथाशीघ्र संविधान निर्माण गरि घोषणा गर्न प्रमुख राजनीतिक दलहरु बीच सोमवार (जेष्ठ २५ गते, २०७२) भएको १६ वूंदे सहमतीले संविधान निर्माणमा सुनिश्चितता पैदा भई मुलुक अव निर्वाध अगाडी बढ्ने विश्वास सम्पूर्ण निजी क्षेत्रले लिएको छ । यसले स्वदेश एवं विदेशमा समेत नेपाल वारे सकारात्मक संदेश जाने छ ।
सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, राजनीतिक दलहरु बीच भएको सहमतीको स्वागत सहित खुशी व्यक्त गर्दै भुकम्पले थिलोथिलो भएको मुलुकलाई माथि उठाउन अव सिंगो मुलुकनै होमिने अपेक्षा गर्दछ । प्रमुख राजनीतिक दलहरु बीच भएको सहमतीप्रति विमती राख्ने दलहरुलाई समेत विश्वासमा लिएर शीघ्र संविधान निर्माण गरि मुलुकभित्र राजनीतिक स्थायित्व कायम गर्नेमा दलहरु सफल हुने विश्वास निजी क्षेत्रको छ ।
हजारौंको दु:खद निधन, हजारौ बेघरबार, लाखौं घाइते र अर्वौको आर्थिक नोक्सानी हुनेगरि वैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पका कारण मुलुक थिलोथिलो भएको छ । यस्तो परिस्थितिमा भुकम्प प्रभावित जनताको पुनरस्थापना तथा मुलुकको पुनर्निर्माणका लागि अर्वौंको लगानी आवश्यक छ । यस परिस्थितिमा दलहरु बीचको सहमती मुलुकभित्र राजनीतिक स्थायित्व कायम गरि लगानीको वातावरण बनाउन महत्वपूर्ण कडी हुने धारणा महासंघको छ ।
राजनीतिक व्यवस्थालाई समेत स्थायित्व दिने, अर्थतन्त्रलाई निर्वाध र स्वतन्त्र रुपमा संचालन हुने वातावरणको सुनिश्चितता नयां संविधानमा गरिनु पर्दछ । नयां संविधानले आर्थिक स्वतन्त्रताका अन्तरवस्तुहरूलाई संविधानको मौलिक हकमै प्रत्याभूती गरिनु पर्छ भन्ने भावना सहितको सुझाव निजी क्षेत्रका तर्फबाट महासंघले यस अघिनै पेश गरेको स्मरण गराउंदै मुलुकको आर्थिक विकास तथा संविधान निर्माणमा आवश्यक सवै प्रकारको सहयोग गर्न निजी क्षेत्र तयार रहेको विश्वास महासंघ दिलाउंदछ ।