नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, महासंघका पदाधिकारी र भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो ।
महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, नेपाली राजदुतावासका डिसीएम मिनिष्टर कृष्ण प्रसाद ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, शंकर प्रसाद पाण्डे, केशव पाण्डे, शंकर श्रेष्ठ, व्यवसायी आरबी रौनियार, महासंघका महानिर्देशक धरणीधर खतिवडा सहभागी रहनु भएको सो भेटवार्तामा नेपाल भारत बीचको व्यापार प्रवद्र्धनमा देखापरेका व्यवहारिक समस्या, लगानी प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण लगायतका विषयमा छलफल भयो ।
सो अवसरमा महासंघका तर्फबाट दुई देश बीच विद्युत आदान प्रदानका लागि निर्माणाधिन प्रशारण लाइन निर्माण सम्पन्न गर्न पहल हुनुपर्ने, केही नयां प्रशारण लाइन जस्तो आनन्दनगर भैरहवा विद्युत प्रशारण लाइन निर्माणका लागि पहल हुनुपर्ने, पंचेश्वर परियोजना शीघ्र अगाडी बढाउनु पर्ने, अकासिंदो व्यापार घाटालाई कम गर्ने एकमात्र विकल्प भनेको विद्युत निर्यातनै भएकाले भारतीय लगानीकर्ताहरुलाई नेपालमा उर्जामा लगानी गर्न आकर्षण गर्नुपर्ने, क्वारेन्टाइन लगायतका समस्याले नेपाली उत्पादनहरु खासगरि कृषि उत्पादन निर्यातमा समस्या परेकाले भारतीय सम्बन्धित निकायमा पहल गरि सहज निर्यातको व्यवस्था हुनुपर्ने लगायतका सुझाव प्रस्तुत गरियो । त्यसैगरि नेपाली हस्तकला सामानहरुको निर्यातमा एजो टेष्टको कारणले पर्न गएको कठिनाईको समाधान तथा नेपाली सवारी साधनको निर्वाध आवागमनका लागि पनि राजदुत समक्ष आग्रह गरियो ।
सो अवसरमा राजदुत उपाध्यायले महासंघसंगको भेट निकै महत्वपूर्ण भएको र प्राप्त सुझावहरुले आपसी आर्थिक सम्बन्ध थप मजवुद पार्ने आफ्नो अभियानमा सघाउ पुग्ने विश्वास दिलाउनु भयो । नेपालमा थप भारतीय लगानी विस्तार गर्न, व्यापार घाटा कम गर्न, व्यवहारमा आइपरेका अन्य समसामयिक समस्या समाधानका लागि के गर्न सकिन्छ त्यसमा ठोस सुझाव दिन राजदुत उपाध्यायले आग्रह समेत गर्नुभयो । नेपालको समग्र विकासमा भारतीय सरकारको सदासयता र चासो रहेको आफूले पाएकाले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुने योजनाहरु ल्याउन राजदुत उपाध्यायले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहांले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।