नयां संविधान निर्माणको अन्तिम चरणमा केहीदिनदेखि मुलुकभर घटेका घटनाप्रति यस नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । केही दिनयता कैलाली, सर्लाही, रौतहट सहित मुलुकको पूर्वदेखि सुदूरपश्चिमसम्म घटेका घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति महासंघ गहिरो दु:ख व्यक्त गर्दछ, त्यस प्रकारका घटना अव मुलुकभित्र कहिल्यै हुन नदिने वातावरणका लागि महासंघ नेपाल सरकार, सवै राजनीतिक दलहरु, सम्बन्धित सवै पक्षसंग गम्भीर आग्रह गर्दछ ।
नेपालीको सवैभन्दा ठूलो शक्ति भनेकै नेपाली नेपाली बीचको सदियौ देखिको आपसी प्रगाढ सम्बन्ध, एकअर्का बीच भातृत्वभाव, सामाजिक सद्भाव र मेलामिलापनै हो । एकलाई परेका वखत अर्काले उदारभावले सघाउने, वेदना बांडचुंड गर्नेनै हाम्रो पहिचान हो, नेपाली बीचको सदियौंदेखिको यो सम्बन्धमा कहीकतैबाट पनि खलल पार्ने काम नहोस भन्नेतर्फ सदा चनाखो रहन महासंघ सवैमा अपिल गर्दछ ।
राजनीतिक संक्रमणको अन्त्य पश्चात कत्तिपनि विलम्व नगरि मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानुपर्नेमा महासंघले वारम्वार जोडदिंदै आएको छ । नयां संविधानको घोषणा पश्चात मात्र राजनीतिक संक्रमण अन्त्य हुने महासंघको विश्वास छ । सवै नेपालीका अधिकारलाई सुनिश्चित गर्न, जनताले दिएका सुझावहरुलाई गम्भीरतापूर्वक अध्ययन गरि नयां संविधानमा समेट्न, जनताको अभिमतको कदर गर्न र जनताका असन्तुष्टिलाई खुला दिलले संवोधन गरि छिटोभन्दा छिटो नयां संविधान घोषणा गर्न महासंघ सरकार, प्रमुख राजनीतिक दलहरु समक्ष विशेष आग्रह गर्दछ । यस बीचमा निरन्तर भएका बन्द हड्तालका घटनाबाट मुलुकलाई निकै ठूलो आर्थिक नोक्सानी भएको छ । विनासकारी भुकम्पबाट थिलोथिलो भएको अर्थतन्त्रलाई लगातारको बन्द हड्तालले अत्यन्त कमजोर वनाएको छ । यहि अवस्था अव केही दिन रहने हो भने अर्थतन्त्र उठ्नै नसक्ने गरि थलापर्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउंदै कुनै पनि राजनीतिक उद्देश्य प्राप्तिका लागि अर्थतन्त्रलाई ढाल नवनाइयोस भन्ने निजी क्षेत्रको सम्बन्धित सवै पक्षसंग विशेष आग्रह छ ।
ठूलो संघर्षपछि प्राप्त राजनीतिक उपलव्धीलाई संस्थागत गर्ने भनेको नै संविधानले हो । संविधान निश्चित समयभित्रै जारी गर्ने वातावरण वनाउनु पर्ने वेलामा फेरी अशान्ति, वन्द हड्ताल, एकअर्का बीच सामाजिक सद्भाव खलवलिने प्रकृतिका गतिविधि हुनु कुनैपनि हिसावले सोभनिय हुंदैन । समयमै संविधान जारी गरि हजारौ जनताको त्याग र वलिदानीबाट प्राप्त उपलव्धी संस्थागत गर्ने कार्यमा कहीकतैबाट पनि अवरोध नपुर्याई संविधान निर्माणको महानकार्यमा जुट्न सवैमा महासंघ आग्रह गर्दछ । सवै प्रकारका असहमतीलाई वार्ता र संवादका माध्यमबाट हल गर्न आव्हान गर्दै हप्तौदेखि जारी बन्द हड्तालका कारण आम नेपाली जनताले निकै धेरै कष्ट व्यहोर्नु परेकाले बन्द हड्तालका सवै कार्यक्रम फिर्तालिन समेत महासंघको आग्रह छ । अहिलेको अत्यन्त संवेदनशील घडीमा सवैमा धर्यता र संयमता अपनाई संविधान निर्माणको महान अभियानमा जुट्न, सामाजिक सद्भाव कायम राख्न समेत महासंघ सवैमा हार्दिक अपिल गर्दछ ।