नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल आर्थिक पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यको सम्मानमा भदौ २० गते ललितपुरमा स्वागत कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको आर्थिक विकासका लागि महासंघ र सेजनको सहकार्यमा जोड दिनु भयो । महासंघका अध्यक्ष मुरारकाले मुलुकको हितका लागि निजी क्षेत्रले उठान गरेका मुद्दाहरुलाई स्थापित गर्न आर्थिक पत्रकारहरुको सहयोगको अपेक्षा गर्नुभयो ।
उहांले लगभग ६ वर्ष अगाडी देखि महासंघ र सेजन बीच सहकार्य हुंदै आएको स्मरण गर्नुहुंदै आपसी सहकार्यलाई आगामी दिनमा अझ बढी परिणाममुखी वनाउदै जाने विश्वास दिलाउनु भयो ।
अध्यक्ष मुरारकाले महासंघले घोषणा गरेको आर्थिक पत्रकारिता पुरस्कार महासंघको स्वर्ण वर्ष समारोहदेखि शुरुवात गर्ने बताउनु भयो ।
सेजनका अध्यक्ष गोकर्ण अवस्थीले आर्थिक पत्रकारहरुको क्षमता विकास, विषयत ज्ञान अभिवृद्धिका लागि शीप विकास तथा तालीमको आवश्यकता पर्ने हुंदा आगामी दिनमा सेजनले यस्ता क्षेत्रमा महासंघबाट बढी सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
उहांले दुवै संस्था बीच नियमित भेटघाट, छलफल तथा अन्तरक्रियामा जोड दिनु भयो । कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ नियमित वसेर छलफल गरौं, आगामी अगाडी बढौं, अध्यक्ष अवस्थीले भन्नु भयो ।
धन्यवाद मन्तव्यका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले निजी क्षेत्र र आर्थिक पत्रकारिता एकअर्काका परिपुरक भएको बताउनु भयो । मुलुकको अर्थतन्त्रको उत्थानका लागि संचार माध्यमको निकै ठूलो भूमिका हुने पनि उहांले बताउनु भयो ।
सेजन र महासंघको अन्तिम लक्ष्य भनेको मुलुकको समृद्धिनै भएकाले आर्थिक मुद्दाहरुमा दुवै संस्थाको सहकार्यमा जोडदिनुहुंदै वरिष्ठ उपाध्यक्ष राणाले सहकार्यका क्षेत्रहरुको पहिचानका लागि दुवै संस्थासंगै बसेर तय गर्ने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा महासंघका उपाध्यक्षहरु किशोर प्रधान र दिनेश श्रेष्ठ, स्थायी समिति सदस्यहरु, कार्यकारिणी समितिका सदस्यहरु, महानिर्देशक धरणीधर खतिवडा र संचारकर्मीहरुको उपस्थिति थियो ।