नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेसमा आन्दोलनरत दलका नेताहरुलाई आन्दोलनका सवै कार्यक्रमहरु फिर्तालिई मुलुकभित्र उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाउन आग्रह गर्दै महासंघका तर्फबाट आज भैरहवामा छुटछुटै ज्ञापनपत्र वुझाउनु भएको छ ।
महासंघको सदस्य सिद्धार्थनगर उद्योग वाणिज्य संघको सचिवालय भैरहवामा आयोजित कार्यक्रममा अध्यक्ष मुरारकाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई ज्ञापन पत्र वुझाउनु भयो ।
सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु किशोर प्रधान र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरु र उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।
महासंघका तर्फबाट ज्ञापनपत्र वुझाउनु हुंदै महासंघका अध्यक्ष मुरारकाले सवै नेपाली जनताको भावनालाई समेटेर जतिसक्दो छिटो नयां संविधानको घोषणा गर्ने कार्यमा सहयोग गर्न ती दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहांले आम जनताको पेशा व्यवसाय गरि वांच्न पाउने न्यूनतम मानव अधिकारको प्रत्याभुति गर्न, सवै प्रकारका बन्द हड्ताल र विरोधका कार्यक्रमहरु अविलम्व फिर्ता लिन, शान्ति सुरक्षाको प्रत्याभुति सहित निर्वाध उद्योग व्यवसाय गर्ने वातावरणको अनुभूति दिलाउन समेत माग गर्नुभयो ।
नजिकै आएको दशै, तिहार, छठ आदि राष्ट्रिय पर्वहरु समेतलाई मनन गर्दै निजी क्षेत्रका मागलाई संवोधन गरि तत्काल वन्द हड्ताल कार्यक्रम फिर्ता लिन पनि महासंघका अध्यक्षले आग्रह गर्नुभयो । सरकार र राजनीतिक दलहरुको प्रतिबद्धताको साथै मुलुकनै संविधान निर्माणको अन्तिम तयारीमा जुटेको पृष्ठभूमिमा अनेकौं समस्याका बावजूद पनि निजी क्षेत्रले सक्दो सहयोग गर्दै आएको स्मरण गराउनु हुंदै अध्यक्षले जनताको जीउन पाउने अधिकारको ग्यारेन्टी तथा उद्योग व्यवसाय गर्ने वातावरण बनाई दिन निजी क्षेत्रले सवै राजनीतिक दलहरु समक्ष वारम्वार आग्रह गर्दा पनि निजी क्षेत्रका आवाज र अनुनयलाई वेवास्ता गरिंदा आज मुलुकको अर्थतन्त्रनै ध्वस्त हुने अवस्था सृजना भएको तर्फ निजी क्षेत्र अत्यन्त चिन्तित रहेको वताउनु भयो ।
वैशाख १२ गतेको विनासकारी भुकम्प र त्यसपछिका शक्तिशाली पराकम्पले मुलुकले निकै ठूलो मानवीय, भौतिक एवं आर्थिक नोक्सानी व्यहोरेको अवस्थामा पुन: लगातारको बन्दले आर्थिक उद्योग व्यवसाय, यातायात क्षेत्रले अर्वौको क्षति व्यहोरी रहेको तर्फ अध्यक्ष मुरारकाले ध्यानाकर्षण गराउनु भयो ।
लगातारको बन्दले बाहिरबाट ल्याएका सामानहरु अन्तराष्ट्रिय नाकाहरुमा महिनौदिन देखि रोकिन जांदा तिर्नुपर्ने विलम्व शुल्क अव कल्पना भन्दा वाहिर गएको, करोडौंको औद्योगिक कच्चापदार्थ नष्ट भएको, आन्तरिक उत्पादन बजारमा पुरयाउन नपाउंदाको क्षतिको आंकलननै गर्न सक्ने अवस्था नरहेको, पर्यटन उद्योग ठप्प रहेको, शिक्षण संस्थाहरु ठप्प भई लाखौं विद्यार्थीहरुको भविष्य अनिश्चित बन्दै गएको, अत्यावश्यक स्वास्थ्य सेवा नपाएर विरामीहरु मरिरहेका, निरन्तरको बन्दबाट उद्योगी व्यवसायीले आफना कर्मचारी, मजदुरलाई तलवज्याला, बैंक तथा वित्तिय संस्थालाई वुझाउनु पर्ने ऋणको किस्ता तिर्न सक्ने अवस्था नरहेको, आम जनताको स्वतन्त्रतापूर्वक आवातजावत एवं हिड्डुल गर्न पाउने न्यूनतम मानवअधिकार हनन भएको, दैनिक ज्यालादारी गरेर जीवन जिउने जनताभोकभोकै मर्ने परिस्थिति उत्पन्न भएको तर्फ आन्दोलनरत दलका नेताहरुको ध्यानाकर्षण गराउनु भयो ।
महासंघका तर्फबाट ज्ञापनपत्र वुझनुहुंदै आन्दोलनरत दलका नेताहरुले महासंघको माग र चिन्ताप्रति आफू र आफ्ना दलको संवेदनशीलता रहेको वताउनुहुंदै आन्दोलन आफूहरुको रहर नभै वाध्यता भएकाले समस्या समाधानमा सरकारसंग पनि पहल गर्न आग्रह गर्नुभयो ।
(फोटो साभार: सिउवासंघ)