नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको १० औं बैठक महासंघका अध्यक्ष पशुपति मुरारकाको अध्यक्षतामा महासंघ सचिवालयमा वस्यो ।
महासंघका पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु उपस्थित बैठकले मुलुकको पछिल्लो अवस्थाप्रति गम्भीर छलफल गर्दै देहायका निर्णय गरेको छ ।
निर्णयहरु
-- तराईमा जारी आन्दोलनप्रति गम्भीर समिक्षा गरी आन्दोलनका क्रममा भएको मानवीय एवं आर्थिक क्षतिप्रति दु:ख व्यक्त गर्दै जारी आन्दोलनको अन्त्य गर्ने सम्बन्धमा सरकार र आन्दोलनरत दलहरु बीच जारी वार्ताको स्वागत गर्दै तत्काल वार्तालाई परिणाममुखी बनाई मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सरकार तथा आन्दोलनरत दलहरुलाई अनुरोध गर्ने,
-- डेढ महिना भन्दा बढी समयदेखि जारी आन्दोलनबाट मुलुक गम्भीर आर्थिक संकटमा पर्ने तर्फ चिन्ता प्रकट गर्दै अर्थतन्त्रलाई दूर्घटनाबाट बचाउन सरकारका तर्फबाट तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्ने,
-- ४ वटा नगर उद्योग वाणिज्य संघहरुलाई नगरस्तरीय उद्योग वाणिज्य संघको सदस्यता, ४ वटा वस्तुगत संघहरुलाई वस्तुगत संघको सदस्यता र १६ वटा विभिन्न उद्योग प्रतिष्ठानहरुलाई महासंघको एसोसिएट सदस्यता प्रदान गर्ने,
-- महासंघको विशिष्ट सदस्यमा महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारिणी समितिको सदस्यमा उद्योगपति कुमुदकुमार दुगडको मनोनयनलाई बैठकले अनुमोदन गऱ्यो ।