सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा भेटगरि मुलुकको अर्थतन्त्रलाई संघारमा आएको दूर्घटनाबाट बचाउन आग्रह गऱ्यो ।
नवनिर्वाचित प्रधानमन्त्रीलाई शुभकामना दिन गएको महासंघको प्रतिनिधिमण्डलका तर्फबाट अध्यक्ष मुरारकाले ६२ दिनदेखिको तराई बन्द, हड्ताल र अघोषित नाकावन्दीले मुलुकको अर्थतन्त्र चौपट भएकाले संकटबाट मुलुकलाई जोगाउन अपिल गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु दिनेश श्रेष्ठ र शेखर गोल्छा तथा कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित हुनुहुन्थ्यो ।
अध्यक्ष मुरारकाले यस अवधिमा राष्ट्रलाई १० खर्वको आर्थिक नोक्सानी भैसकेको, उद्योगकलकारखाना ठप्प रहेको, उद्योग व्यवसाय र उद्योग प्रतिष्ठानहरुमा सुरक्षाको चुनौती बढ्दै गएको, निजी सम्पत्तिमाथि आक्रमण गरि क्षति पुऱ्याइएका, बन्दबाट आम जनताको न्यूनतम मानवअधिकार हनन हुनुको साथै उनीहरुको दैनिक जीवनयापननै अत्यन्त कष्टकर बन्दै गएकाले तत्काल निकास दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो । उद्योग व्यवसाय अवपनि सुचारु हुन सकेनन भने कुनैपनि वेला अर्थतन्त्र गम्भीर संकटमा फस्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
बन्द हड्ताल फिर्ता लिन तथा वार्ता संवादका माध्यमबाट समस्या समाधान गर्न निजी क्षेत्रको आग्रहप्रति सरकार तथा आन्दोलनरत दलहरुले वेवास्ता गर्दा आजको अवस्था आएको भन्दै अध्यक्ष मुरारकाले अव पनि व्यवसाय संचालन गर्ने वातावरण बन्न नसकेमा उद्योग व्यवसाय संचालन गर्न नसकिने र उद्योग व्यवसाय आफसेआफ बन्द हुने स्पष्ट पार्नुभयो । सो अवसरमा उद्यमीहरुले मुलुक इतिहासकै अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेकाले अर्थतन्त्रलाई जोगाउन राज्य संवेदनशील वन्नुपर्ने, जलश्रोतको विकासमा राज्यको सम्पूर्ण प्रयास केन्द्रीत हुनुपर्ने, वैकल्पिक नाकाहरु तत्काल संचालन गर्न सरकार क्रियाशिल हुनुपर्ने, सुरक्षाको सुनिश्चितता गराउनु पर्ने लगायतका सुझावहरु दिइएको थियो ।
सो अवसरमा प्रधानमन्त्रीले मुलुकको पछिल्लो अवस्था अत्यन्त जटिल बन्दै गएको, बन्द हड्ताल र भंसार अवरोधका कारण निजी क्षेत्रले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको तर्फ आफू पूर्ण सचेत रहेको भन्नुहुंदै निजी क्षेत्रलाई परेको प्रतिकुल असरलाई ध्यानमा राखी सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । जनताले राहतको महसुस गर्ने कार्यक्रमहरु ल्याउने जानकारी गराउनुहुंदै प्रधानमन्त्रीले यसमा आफूले निजी क्षेत्रको साथ र सहयोग पाउने आशा प्रकट गर्नुभयो । उहांले विद्यमान समस्या समाधानका लागि आफू सहित सिंगो सरकारनै लागि परेकाले आफूले समस्या समाधान गरेरै छाड्ने विश्वास दिलाउनु भयो । महासंघले दिएका सुझावहरुका आधारमा मुलुकभित्र लगानीमैत्री वातावरण वनाउने आफ्नो सरकारको पहिलो प्राथमिकता हुने पनि प्रधानमन्त्रीले निजी क्षेत्रलाई विश्वास दिलाउनु भयो ।