नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग मन्त्री सोमप्रसाद पाण्डे समक्ष आज उद्योग मन्त्रालयमा भेटगरि उद्योग क्षेत्रले पछिल्लो पटक व्यहोर्नु परेको समस्या वारेमा अवगत गरायो ।
सो अवसरमा नवनियुक्त उद्योग मन्त्री पाण्डेलाई वधाई दिनुहुंदै महासंघका अध्यक्ष मुरारकाले लगभग तीन महिनादेखि जारी तराई आन्दोलन तथा प्रमुख भंसार नाकामा अवरोधका कारण उद्योग व्यवसाय चौपट भएको र उद्योग व्यवसाय क्षेत्रले दैनिक करिव २ अर्व वरावरको आर्थिक नोक्सानी व्यहोर्दै आएकाले अहिलेको असहज अवस्थाको तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो ।
चरम इन्धन अभावका कारण औद्योगिक उत्पादन तथा कच्चा पदार्थको आयात निर्यात ठप्प रहेको, वीरगंजस्थित सुख्खा वन्दरगाहमा वाहिरवाट ल्याइएका माल वस्तुहरु महिनौदेखि सम्बन्धित स्थानसम्म लैजान नसकिएका कारण उद्यमी व्यवसायीहरुले माल वस्तुहरुमा तिर्नु पर्ने गोदाम भाडा, डिमरेज र विलम्ब शुल्क तथा कन्टेनर पार्किङ शुल्क लगायतको जरिवाना तीर्न सक्ने अवस्था नरहेकाले तत्काल ती माल वस्तुहरु गन्तव्य तर्फ पठाउने आवश्यक प्रवन्ध मिलाउन समेत अध्यक्ष मुरारकाले उद्योगमन्त्री समक्ष अनुरोध गर्नुभयो ।
अहिलेको कठिन अवस्थामा समग्र उद्योग व्यवसाय क्षेत्रलाई अभिभावकत्व दिन समेत मन्त्री समक्ष अनुरोध गर्नुहुंदै अध्यक्ष मुरारकाले यतिवेला उद्योग मन्त्रालय र अर्थ मन्त्रालय बीच समन्वयको खांचो औल्याउनु भयो । साथै उहांले अर्थमन्त्रालयसंग समन्वय गरि उद्योग क्षेत्रलाई तत्काल राहतका प्याकेजहरु घोषणाका लागि नवनियुक्त उद्योग मन्त्रीको ध्यानाकर्षण गराउनु भयो । उहांले उद्योग क्षेत्रलाई सरकारले तत्काल सुरक्षाको प्याकेजहरु नदिने हो भने कुनैपनि वेला उद्योग व्यसाय गम्भीर संकटमा जाने बताउनु भयो । सो अवसरमा मुलुकको उद्योग व्यवसायलाई स्वावलम्वी वनाउने नीति राज्यको हुनुपर्नेमा समेत जोड दिइयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा, कार्यकारिणी समिति सदस्यहरु उमेशलाल श्रेष्ठ, शंकर प्रसाद पाण्डे, चन्द्र प्रसाद ढकाल, अरुण सुमार्गी, अशोक शर्मा, गोपाल खनाल, ज्योत्साना श्रेष्ठ, अंजन श्रेष्ठ, कुमुद दुगड, रिता भण्डारीको उपस्थिति रहेको प्रतिनिधिमण्डललाई संवोधन गर्नुहुंदै नवनियुक्त उद्योग मन्त्री पाण्डेले अहिलेको असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्र सहित मुलुकको अर्थतन्त्रनै गम्भीर रुपमा प्रभावित भएकोप्रति आफू अत्यन्त संवदेनशील रहेको र उद्योग व्यवसाय क्षेत्रलाई यसस्थितिमा कसरी संवोधन गर्न सकिन्छ तत्काल त्यसतर्फ गृहकार्य थाली सहयोग गर्ने बताउनु भयो ।
उद्योग मन्त्रीले सुख्खा वन्दरगाहमा रहेका वस्तुहरु छुटाउन छिट्टै पहल हुने आश्वासन समेत दिनु भयो । निजी क्षेत्रलाई साथमा लिई उद्योग क्षेत्रसंग सम्बन्धित नीति निर्माण गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।