नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको ७६ वर्षको उमेरमा आज राति असामयिक निधन भएको खवरले नेपाल उद्योग वाणिज्य महासंघ सहित सिंगो निजी क्षेत्र स्तव्ध भएको छ ।
नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहेर असाधरण योगदान पुर्याउनु भएका कोइरालाको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुग्न गएको छ । उहांकै कार्यकालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनुको साथै गणतन्त्र संस्थागत हुन पुग्यो । पूर्व प्रधानमन्त्री कोइरालाले यस कार्यमा पाउनु भएको सफलताको आम नेपाली जनता सहित सिंगो निजी क्षेत्र उच्च प्रशंसा गर्दछ ।
निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि सदा चिन्तित हुनुहुन्थ्यो । निजी क्षेत्रसंगको हरेक भेटघाट र बैठकमा उहांले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गर्नुहुन्थ्यो । एकता, सहमती, सहकार्य र मेलमिलापको राजनीतिमा सदा जोड दिनुहुंने कोइराला त्यसैलाई अनुशरण गरि मुलुकलाई अगाडी बढाउनु पर्नेमा सदैव लागिरहनु भएको थियो ।
मुलुकको संविधान जारी गर्ने कार्यमा जसरी उहांले दृढतापूर्वक लागी त्यसलाई सम्पन्न गर्नु भयो, उक्त संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी अव राजनीतिक दलका शीर्षस्थ नेताहरुको कांधमा आएको छ । यसलाई समयमै जिम्मेवारी पूर्वक सम्पन्नगरि मुलुकलाई समृद्ध बनाउने कोइरालाको सपना साकार पार्न प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई आव्हान गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दछ ।