नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी चैत्र ४ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ (Nepal International Trade Fair-2016) आयोजना हुने भएको छ । मेलाको वारे जानकारी गराउने उद्देश्यले आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन् ।
नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो पांचौ संस्करण हो । मेलामा सहभागी हुन चाहने स्वदेशी एवं विदेशी कम्पनीहरुका लागि आजैबाट स्टल खुला समेत गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग एवं महासंघको पहलमा महासंघका सदस्य उद्योग वाणिज्य संघहरुको आयोजनामा देशका विभिन्न भागहरुमा जिल्ला तथा क्षेत्रीय मेला महोत्सवहरु आयोजना हुंदै आएको छन् ।
३०० सय भन्दा बढी स्टल मार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । यस वर्ष मेलामा मेलामा भारत र चीन लगायत वंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भुटान, ताइवान लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् । मेलामा China Exhibition and Forum Private Limited र Indian Chambers of Commerce को नेतृत्वमा मित्रराष्ट्र भारत र चीनबाट क्रमश: ७० र ९० वटा स्टलहरु रहने छन् ।
करिव ३ करोड जनता वसोवास गर्ने सिंगो नेपालनै प्रमुख वजार हुन सक्ने प्रसस्त संभावना रहेकाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक क्षेत्रमा नविनतम सोंच, विचार, उत्पादन, सेवाहरु तथा प्रविधिको प्रवद्र्धन गर्ने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम बनिरहेकोछ । एकै छानामुनीबाट स्वदेशी विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयां सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हो । यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तराष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा शीप आदान प्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी exhibitors बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण Forum को रुपमा विकास गरिरहेको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहने छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यन्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहने छन्् ।
त्यसैगरि अन्तर्राष्ट्रिय व्यापार मेलामा जडीवूटी र नेपाल व्यापार रणनीति अन्तरगत रहेका वस्तु तथा सेवा (एनटीआइएस)हरुको प्रदर्शनी हुनेछ जसमा विभिन्न ७० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । मेलामा एनटीआइएसको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ ।
मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीवारे छलफल हुनेछ । नेपाल सरकारको सहभागितामा यो मेलालाई निरन्तर रुपमा अगाडी बढाउने महासंघको योजना छ ।
महासंघकै नेतृत्वमा विगत १२ वर्षदेखि मुलुकभित्र हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगत गरी करिव २० देखि ३० वटा मेलाहरु देशका विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारीमा छन् ।
महासंघले सफलतापूर्वक सम्पन्न गरेका यस अघिका मेलामा वंगलादेश, पाकिस्तान, भुटान, चीन, भारत र कोरियाका कम्पनीहरुले भाग लिएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरुको समेत उल्लेख्य सहभागिता थियो । गत वर्षको अन्तराष्ट्रिय मेलामा स्वदेशी २ सय ३० र विदेशी १०३ प्रदर्शनीकर्ताहरुले भाग लिएका र करिव २ लाखले मेलाको अवलोकन गरेको आधारमा यस वर्ष मेला अवलोकन गर्नेहरु थप बढ्ने हामीले विश्वास लिएका छौं ।
कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले वैशाख १२ को भुकम्प र तराई आन्दोलन तथा नाकावन्दीबाट थिलोथिलो भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मुलुकभर भएका मेला महोत्सव तथा राजधानीमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारि निर्देशक ईश्वरी प्रसाद घिमिरेले यस्ता अन्तराष्ट्रिय व्यापार मेलामा विदेशी प्रदर्शकहरुको सहभागिता बढाउनु पर्नेमा जोडदिंदै चाडोभन्दा चांडो अन्तराष्ट्रिय प्रदर्शनीस्थल निर्माणमा पहल गर्न निजी क्षेत्रलाई सुझाव दिनु भयो । उहांले केन्द्रको समेत सहयोगमा भएका मेला महोत्सवबाट स्थानीय जनताहरुको आयआर्जन बढाउन सहयोग पुगेको र आर्थिक क्रियाकलाप बढेको वताउनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेला महोत्सव आयोजनाका लागि अन्तराष्ट्रियस्तरको पूर्वाधार निर्माणमा जोडदिनु भयो । जरजर भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मेला सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।
अन्तराष्ट्रिय व्यापार मेलाका सम्बन्धमा महासंघको मेला समितिका सभापति केशव पाण्डेले जानकारी गराउनु भयो । उहांले आर्थिक क्रियाकलाप बढाउने यस्ता मेला महोत्सवको आयोजनामा सरकारका तर्फबाट विशेष सहयोगको अपेक्षा गर्नुभयो ।
महासंघको मेला समितिका सहसभापति मनिषलाल प्रधान, राष्ट्रभुषण चकुवाजीको समेत उपस्थिति रहेको पत्रकार सम्मेलनमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले धन्यवाद दिनु भयो ।
साथै सोही पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिज्य संघद्वारा यही फागुन २० देखि ३० गतेसम्म हेटौंडामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका सम्बन्धमा समेत जानकारी गराइयो । संघका अध्यक्ष राजकुमार न्यौपानेले उक्त मेलाका वारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
थप फोटोको लागि यहाँ क्लिक गर्नु होला ।