सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले आजबाट गर्नुभएको मित्रराष्ट्र भारतको छ दिने राजकीय भ्रमणमा निजी क्षेत्रको तर्फबाट सहभागी भई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्यो ।
प्रधानमन्त्रीका साथ आज भारत जाने महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्साना श्रेष्ठ र शाहिल अग्रवाल र महासंघका उपनिर्देशक अनुप कुमार श्रेष्ठ हुनुहुन्छ भने महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ र कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ र त्रिभुवनधर तुलाधर आइतवार त्यसतर्फ जांदै हुनुहुन्छ ।
महासंघको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, उर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, बैकिङ, शिक्षा स्वास्थ्य, अटोमोवाइल, हस्तकला, उत्पादनमुलक क्षेत्रको प्रतिनिधित्व रहेको छ ।
भारतमा रहंदा महासंघको प्रतिनिधिमण्डल सम्माननीय प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागि हुनुको साथै महासंघको समकक्षी भारतीय उद्योग वाणिज्य महासंघ (Federation of Indian Chambers of Commerce and Industry - FICCI) र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry - CII) ले आयोजना गर्ने कार्यक्रमहरुमा सरिक हुनेछ ।
त्यसैगरि भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, उर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीहरुसंग भेटवार्ता गरि द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्नेछ ।