अर्को वर्षको फागुन २४ देखि २८ गते (March 7-11, 2017) मेलाको तिथि घोषणा गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०७२ (Nepal International Trade Fair-2016) आज सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुंदै आएको छ । यस पटकको मेला पांचौ संस्करण हो । मेलाको सहआयोजकमा महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ रहेका थिए ।
मेलामा प्रत्यक्ष रुपमा करिव १० करोडको कारोवार भएको अनुमान गरिएको छ भने अप्रत्यक्षरुपमा खासगरि चीन तथा भारतका कम्पनीहरुले नेपालमा व्यवसायिक सम्बन्ध स्थापना गरेको अनुमान गरिएको छ ।
सम्माननीय राष्ट्रपतिज्यूबाट समुद्घाटन भएको मेलाको करिव डेढ लाखले अवलोकन गरेका थिए । मेलामा नेपाल एकिकृत व्यापार रणनीति अन्तरगतका उत्पादनहरु र नेपाली जडीवूटीका स्टलहरुमा भ्रमण गर्नेहरुको संख्या अत्याधिक रह्यो ।
मेलाको सम्माननीय राष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सभासद्ज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपालमा लागि भारतीय राजदुत, नेपालका लागि बंगलादेशका राजदुत, उद्यमी व्यवसायीहरु, स्वदेशी एवं विदेशी अवलोकनकर्ताहरुले मेलाको अवलोकन गर्नु भएको थियो । मेलामा अवलोकनकर्ताहरुले निकै अभिरुचीपूर्वक मेलाको अवलोकन गरेका थिए । जम्मा ३५० वटा स्टलहरु मार्फत भारत, चीन, पाकिस्तान, वंगलादेशका उत्पादन तथा सेवाहरु प्रदर्शनी गरिएको थियो । मेलामा भारतबाट ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टलहरु र वांकी नेपाली स्टलहरु रहेका थिए ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुट्टाछुट्टै स्टलहरु रहेका थिए । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयाँ प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहे ।
मेलाको अफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, अफिसियल आइएसपी प्रोभाइडरमा मर्कटायल प्रा.लि., मेलाका सहयोगीहरुमा आइसीसी, China Exhibition and Forum Private Limited, अर्घाखांची सिमेन्ट, प्रान रहेका छन् भने इभेन्ट म्यानेजमेन्टमा राइजइभेन्ट तथा मेडिया सहयोगीमा माइण्ड स्पेश रहेको थियो ।
मेलामा China Exhibition and Forum Private Limited र Indian Chambers of Commerce ले आ-आफ्नो देशको नेतृत्व गरेका थिए । मेलाको अवलोकनका लागि चीनको सिचुवानबाट २० सदस्यीय चिनिया उद्यमी व्यवसायी प्रतिनिधिमण्डल समेत नेपाल आएको थियो ।
महासंघले मेला आयोजना गर्न सहयोग गर्ने नेपाल सरकार, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलाई विशेष धन्यवाद दिएको छ । त्यसैगरि सह-आयोजक भई सहयोग गर्ने नेपाल जडीवूटी उत्पादक संघ, नेपाल हस्तकला महासंघलाई धन्यवाद दिएको छ । त्यसैगरि महासंघले मेलालाई सफलतापूर्वक आयोजना गर्न सघाउने मित्र राष्ट्रहरु भारत, चीन, पाकिस्तान र वंगलादेश सरकार तथा नेपालस्थित राजदुतावासहरुलाई धन्यवाद दिएको छ । त्यसैगरि मेला आयोजना गर्न प्रत्यक्ष अप्रत्यक्ष सघाउने समाज कल्याण परिषद भृकटीमण्डप सहित विभिन्न संघ संस्था, संचार माध्यमहरुलाई धन्यवाद दिएको छ ।