मितिः २०६३/५/४
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिबाट उत्पन्न अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गंभीर ध्यानाकर्षण भएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिबाट सर्वसाधारणको दैनिक जीवनयापनमा असर त पार्छनै यसबाट उद्योग व्यवसायको लागतमा समेत वृद्धि हुन जाने स्पष्ट छ ।
जन आन्दोलन-२ पछि मुलुकले सही निकास लिने अपेक्षा सहित राजनीतिक तथा आर्थिक रुपमा समेत मुलुक भित्र सहज वातावरण बन्दै जान लागेको महशुस भैरहेको अवस्थामा पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको कारण उत्पन्न अवस्थाले सबैलाई चिन्तित तुल्याएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नु अगाडी यसको विकल्पनै नखोजी मुल्य वृद्धिलाईनै संस्थानको घाटापूर्ति गर्ने उपाय रोज्नु तर्कसंगत देखिदैन ।
अतः पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि माथि तत्काल पुनर विचार गरी हालको अवस्थालाई अझ विग्रन नदिई मुलुकलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछ ।