मितिः २०६३/५/११
आजको खुला प्रतिस्पर्धाको युगमा गत केही महिना देखि नेपाल ट्रक, ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघद्वारा लागू गरिएको टोकन प्रणाली सम्बन्धमा श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा गत जेष्ठ २९ गते सम्बन्धित विभिन्न संघ/संस्थाहरुको सहभागितामा भएको वैठकमा नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघसंग आवद्ध ट्रक तथा ट्याङ्करहरुलाई सिण्डिकेट, कार्टेलिङ्ग वा त्यस्तै प्रकृतिका अन्य कुनै प्रणाली वा प्रकृया लागू नगर्ने गरी ढुवानी यातायात संचालन गर्न एवं अन्य संघ/संस्था तथा व्यवसायीहरुको हकमा निर्वाध रुपमा संचालन गर्न पाउने र त्यसमा कसैले अवरोध नगर्ने गरी सहमति/निर्णय भएको सर्वविदितै छ ।
सो बमोजिम सम्बन्धित सबै पक्ष बीच समझदारी/निर्णय भएता पनि हालसम्म टोकन प्रणाली वा सिण्डिकेट प्रणाली कायमै रहेको र निजी प्लेटका ट्रकहरुले समेत तोकिएको भारभन्दा वढी सामान ढुवानी गर्न नपाउने गरी रोक लगाएको कारण उपरोक्त सहमति/निर्णय व्यवहारमा कार्यान्वयन नभएबाट उद्यमी व्यवसायीहरु ठूलो मर्कामा पर्नुको साथै उपभोक्ताहरु समेत मारमा परेकाले माल सामान ढुवानी खुल्ला प्रतिस्पर्धाको आधारमा संचालन गर्ने व्यवस्था तत्कालै हुनका लागि नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारका सम्बन्धित निकायका साथै नेपाल ट्रक ट्याङ्कर तथा परिवहन व्यवसायी महासंघसंग जोडदार आग्रह गर्दछ ।