»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पत्रकार सम्मेलन मार्फत राष्ट्रिय संघर्ष समितिद्वारा तय गरिएका कार्यक्रम सार्वजनिक


मितिः २०६३/६/२५

नेपाल उद्योग वाणिज्य महासंघद्वारा वीरगंज उद्योग वाणिज्य संघको आतित्थमा हालै वीरगंजमा आयोजित वृहत राष्ट्रिय भेलाद्वारा जारी घोषणामा उल्लेखित एवं पारित मागहरु पूरा गर्न/गराउन गठित राष्ट्रिय संघर्ष समितिद्वारा तय गरिएको विरोध कार्यक्रमहरुलाई सार्वजनिक गर्न महासंघको सचिवालयमा आज एक पत्रकार सम्मेलनको आयोजना गरियो ।

पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै संघर्ष समितिका संयोजक एवं महासंघका अध्यक्ष चण्डिराज ढकालले निजी क्षेत्रले निरन्तर रुपमा उठाउंदै आएका माग तथा समस्याहरु प्रति सरकार, राजनीतिक दलहरुले वेवास्ता गरेपछि निजी क्षेत्रको समस्या समाधान तथा अस्तित्व रक्षाका लागि आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । विगतमा अत्यन्त कठिन अवस्थामा राजनीतिक दलहरुले समेत राजधानी वाहिर आफ्नो उपस्थिति जनाउन नसकेको अवस्थामा समेत निजी क्षेत्रले जतिसुकै कठिनाई र व्यवधान आएपनि आफ्नो सेवालाई सुचारु गरेको र दोश्रो जनआन्दोलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको वर्गलाई वेवास्ता गरिएकोले निजी क्षेत्र बाध्य भएर आन्दोलनमा जान लागेको स्पष्ट पार्नु भयो ।

महासंघका पदाधिकारी, वस्तुगत संघका पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्र वीर मालाकार, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष शिव घिमिरे, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष अम्मवर बहादुर श्रेष्ठले राष्ट्र निर्माणमा उद्योग व्यवसायको भूमिका गौण देख्ने सरकार तथा राजनीतिक दलहरुले निजी क्षेत्रले उठाएका मागहरु पुरा गर्ने तर्फ आफ्ना प्रतिवद्धता नजनाएसम्म निजी क्षेत्र जस्तो सुकै विरोधमा जान पनि तयार रहेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति यस प्रकार छः

नेपाल उद्योग वाणिज्य महासंघद्वारा बीरगञ्ज उद्योग वाणिज्य संघको आतिथ्यमा यही असोज २ गते बीरगञ्जमा आयोजित "बृहत राष्ट्रिय भेला" बाट पारित बीरगञ्ज घोषणामा उल्लेखित मागहरु पूरा गराउने क्रममा दोश्रो चरणको विरोध कार्यक्रमका रुपमा "व्यवसायिक ऐक्यबद्धता" को लागि यही असोज ३१ गते मंगलवार एक दिन आम हड्ताल गर्ने निर्णय उक्त भेलाद्वारा गठित "राष्ट्रिय संघर्ष समिति" को गत सोमवार महासंघमा बसेको बैठकले गरेको छ ।

सोही अनुरुप सो दिन अधिराज्यभरका सम्पूर्ण उद्योग व्यापार व्यवसाय बन्द गर्ने/गराउने गरी अन्य संघ/संस्थासंग पनि समन्वय सहित यस सम्बन्धी आवश्यक प्रचार प्रसार एवं पूर्व तयारी कार्यक्रम सञ्चालन गरी व्यवसायिक ऐक्यबद्धता सहित आम हडताल सफल बनाउन महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई आग्रह गरिसकेको छ ।

तर उक्त बन्दको आव्हानले औषधि, पानी, दुध, एम्बुलेन्स, दमकल, सव वाहन, आदि अत्यावश्यक सेवालाई भने बाधा पुर्‍याउने छैन ।

महासंघको इतिहासमा पहिलो पटक आम हडतालको आव्हान गरी आन्दोलनमा उत्रनुको पृष्ठभूमि यस प्रकार छः

१. देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको वस्तुस्थिति र एक दशक लामो द्वन्द तथा यसबाट सिर्जित समस्या समाधानका लागि कहिं कतैबाट पहल नभएका कारण अधिकांश उद्योग व्यवसाय मरणासन्न अवस्थामा पुगि बन्द हुने स्थिति देखिएको ।

२. वीरगंज भेलाद्वारा पारित निम्न मागहरु पूरा गर्न/गराउन केन्द्रीय तहमा महासंघका अध्यक्षको संयोजकत्वमा ६१ सदस्यीय "राष्ट्रिय संघर्ष समिति" गठन सहित सो समितिबाट विरोध कार्यक्रमहरुको स्वरुप तय गर्ने निर्देशन दिइएको ।

वीरगंज भेलाद्वारा पारित मागहरुः

क) शान्ति सुरक्षा कायम गरी कर चन्दा बन्द गर्नुपर्ने ।
ख) ट्रेड युनियन समस्या र श्रम विवाद समाधान गर्नुपर्ने ।
ग) ट्रक सिण्डिकेट प्रथाको तुरुन्त अन्त्य गर्नु पर्ने ।

घ) फर्म दर्ता र नवीकरणका लागि जिल्ला उद्योग वाणिज्य संघहरुको सिफारिश पूर्ववत कायम गर्नुपर्ने ।

ङ) वित्तिय तथा बैंकिङ्गका साथै साना उद्योग र रुग्ण उद्योगका समस्या (चालू आ.व.को बजेटमा उल्लेखित सो सम्बन्धी प्रावधान समेत सरकारबाट कार्यान्वयन नभएको) समाधान गरिनु पर्ने ।

>> "राष्ट्रिय संघर्ष समिति" मा महासंघका उपाध्यक्षहरु र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष उपसंयोजक रहनु भएको छ भने विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी महासंघको कार्यकारिणी समितिका सदस्यहरु, जिल्ला तथा वस्तुगत संघका अध्यक्षहरु र अन्य औद्योगिक व्यवसायिक संघ/संस्थाका अध्यक्षहरु समेत सदस्य रहनु भएको छ ।

महासंघका निवर्तमान अध्यक्ष तथा भूतपूर्व अध्यक्षहरु र सल्लाहकार समितिका सदस्यहरु सो समितिका सल्लाहकार हुनु हुन्छ ।

३. राष्ट्रिय संघर्ष समितिद्वारा तय गरिएका विरोध कार्यक्रम अनुसार पहिलो चरणमा निम्न कार्यक्रमहरु सम्पन्न भई सकेकाः

क) वीरगंज भेलाद्वारा जारी घोषणालाई समर्थन गर्न २०६३ असोज ३ गते वीरगंजमा विरोध र्‍याली ।
ख) २०६३ असोज ५ गते सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरुद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र प्रस्तुत ।
ग) २०६३ असोज ६ गते देशका प्रमुख भंसार नाकाहरुबाट २ घण्टासम्म आयात/निर्यातका माल सामान छुटाउने कार्य बन्द ।
घ) २०६३ असोज ६ गते महासंघको तर्फबाट गएको शान्तिपूर्ण जुलुसले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष ज्ञापन पत्र प्रस्तुत ।

त्यस अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्तुत मागहरु सम्बन्धमा महासंघ समेतको सहभागितामा अर्थ, गृह, स्थानीय विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं श्रम तथा यातायात व्यवस्था राज्यमन्त्रीसंग संयुक्त छलफल गरि समाधान गर्ने आश्वासन दिनु भएको थियो ।

४. उपरोक्त मागहरु पूरा गर्ने गराउने क्रममा महासंघले माननीय अर्थ मन्त्री, लगायत सम्बन्धित मन्त्रीज्यूहरु, सत्तारुढ ७ राजनीतिक दल र नेकपा (माओवादी)का अध्यक्षलाई समेत लेखि पर्ठाई पटक पटक सम्पर्क र कुराकानी गरि रहेतापनि समस्या समाधान हुन सकेको छैन ।

५. मागहरु पूरा नभएमा वडा दशैं लगत्तै पछि संघर्ष समितिले चरणवद्ध रुपमा दोस्रो चरणको कार्यक्रम तय गर्ने समेत वीरगंज भेलाद्वारा निर्णय भएकोमा हालसम्म ती मागहरु पुरा नभएको ।

>> अब दोस्रो चरणको विरोध कार्यक्रम तय गरी संचालन गर्नका लागि महासंघका अध्यक्षको संयोजकत्वमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष लगायत विभिन्न संघहरु रहने गरी १५ सदस्यीय कोर ग्रुप गठन गरी कार्य प्रारम्भ गरिएको ।

>> उक्त कोर ग्रुपमा महासंघका पदाधिकारीहरु एवं नेपाल विज्ञापन संघका अध्यक्ष विशेष आमन्त्रित रहने व्यवस्था गरिएको छ । हाल सत्तारुढ सात राजनीतिक दल र नेकपा (माओवादी) बीच सौहार्दपूर्ण रुपमा शिखर वार्ता भई रहेको हुंदा यस क्षेत्रका समस्या शिखर वार्ताकै एजेण्डाका रुपमा अघि बढाई टुंगो लाइनु पर्दछ भन्ने हाम्रो माग रहेको छ ।

>> आम हड्ताललाई सफल बनाउन जिल्लाहरुमा सम्बन्धित उद्योग वाणिज्य संघहरुले आवश्यक तयारी गरेको छ ।

>> उपत्यकाको हकमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्षको संयोजकत्वमा उपत्यका संघर्ष समितिको व्यवस्था गरिएको छ ।

>> समस्या समाधानका लागि जिम्मेवार सवै पक्षबाट आश्वासन दिइएतापनि समाधानको दिशा तर्फ कतैबाट पनि गम्भिरता नदेखाइएको हुंदा अव दोश्रो चरणको विरोध कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउन महासंघका सवै सदस्य संघ/संस्थाहरुबाट ऐक्यवद्धता जाहेर भई रहेको । तैपनि समस्या समाधान नभएमा चरणवद्ध रुपमा गम्भिर निर्णय लिन समेत सदस्यहरुबाट दवाव आईरहेको छ ।

निजी क्षेत्रको सवाल र समस्याका साथै महासंघले उठाएका राष्ट्रिय सवालमा संचार जगतले पुर्‍याएको सहयोगको महासंघ हार्दिक सराहना गर्दै निजी क्षेत्रका यी मागहरु पूरा गराउन र असोज ३१ गते आयोजित "आम हड्ताल" सफल बनाउने कार्यमा पूर्ण सहयोगको लागि महासंघ हार्दिक आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.