मितिः २०६३/६/२६
नेपाल उद्योग वाणिज्य महासंघका द्वितिय उपाध्यक्ष कुशकुमार जोशीले उद्योग व्यापार संघ गुलरियाको १३ औं वाषिर्क साधारण सभाको आज गुलरियामा उद्घाटन गर्दै निजी क्षेत्रका समस्या एवं मागहरुलाई सरकार तथा राजनीतिक दलहरुले समेत वेवास्ता गरेपछि निजी क्षेत्र वाध्य भएर आन्दोलनमा जानु परेको बताउनु भएको छ ।
उपाध्यक्ष जोशीले निजी क्षेत्रको समस्या समाधान लगायत समग्र रुपमा यस क्षेत्रको अस्तित्व रक्षाका लागि पनि वाध्य भएर आन्दोलनमा गएको र सोही क्रममा यही असोज ३१ गते मंगलवार आव्हान गरिएको अधिराज्यव्यापी आम हड्ताल कार्यक्रमलाई सफल पार्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भयो ।
बन्द कार्यक्रमलाई सहयोग गरी व्यवसायिक ऐक्यवद्धता प्रकट गर्न पनि उहांले आव्हान गर्नु भयो । उपाध्यक्ष जोशीले सो अवसरमा उद्योग व्यापार संघले यस अवधिमा त्यस क्षेत्रको उद्योग व्यापार व्यवसायको विकासमा खेलेको भूमिकाको सराहना पनि गर्नु भयो ।
साधारण सभाको उद्घाटन समारोहमा महासंघको इलम तथा शीप विकास फोरमका सह-सभापति अच्युत प्रसाद प्रर्साईं, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्य, मिहिपुखा उद्योग व्यापार मण्डल (भारत)का हरगोविन्द पाण्डे, स्थानिय वुद्धिजिवी, राजनीतिज्ञ, कार्यालय प्रमुख र विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले सो अवसरमा शुभ-कामना प्रकट गर्नु भएको थियो ।
सभापतिको आशनबाट संघका अध्यक्ष राजेन्द्र प्रसाद कंडेलले हालको अवस्थामा स्थानिय क्षेत्रमा उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका समस्या माथि चर्चा गर्दै संघको विकासमा महासंघले गरेको सहयोगको सराहना गर्नु भयो ।